अन्तर्वार्ता

पाँचौं पटक पनि विश्वासको मत लिएर मुख्यमन्त्री रहिरहने छु : मुख्यमन्त्री सरोजकुमार यादव

३१ बैशाख २०८१, सोमबार ०३:३८

३१ वैशाख, वीरगञ्ज । मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकारले अब के गर्छ भन्ने विषयमा कुरा गर्दा मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाँचौं पटक पनि विश्वासको मत लिने दाबी गरेका छन् ।

उनले भने “सदनमा विश्वासको मत लिएपछि मात्र अल्पमत वा बहुमतको कुरा हुन्छ । समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत लिने अधिकार मसँग छ । म विश्वासको मत लिन्छु । मेरो पक्षमा फेरि पनि बहुमत आउँछ र म सरकारको नेतृत्व गर्छु ।”

आफुलाई शत प्रतिशत विश्वस्त रहेको भन्दै मुख्यमन्त्री यादवले चौथो पटक समर्थन लिएर सरकारको नेतृत्व गरेको र अब पाँचौं पटक पनि विश्वासको मत लिएर मुख्यमन्त्री रहिरहने छु । उनले भने “३० दिन धेरै समय हुन्छ । अबको १५ दिनपछि सदनमा म विश्वासको मत लिन्छु । र, मेरै पक्षमा विश्वासको मत आउँछ ।”

गणितले के भन्छ ?
मधेश सरकार गठनका लागी मुख्यमन्त्री यादवलाई ५४ प्रदेश सांसदको समर्थन चाहिन्छ । तर एमाले र माओवादी बाहिरएपछि उनलाई मात्र ४८ प्रदेश सांसदको समर्थन देखिन्छ ।

गणितिय हिसाबले जसपा १९, कांग्रेस २२, नेकपा एकीकृत समाजवादी (एस) ७ सहित ४८ सांसदको समर्थन मुख्यमन्त्री यादवलाई छ । तर यता नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) गरी ४ दल मिलेर नयाँ मधेश सरकार गठनको तयारीमा जुटेका छन् ।

यस गणितिय हिसाबले ५४ जना सांसदको समर्थन पुगेको देखिन्छ । नेकपा (एमाले)का २४, जनमत पार्टीका १३, लोसपाका ८ र माओवादी केन्द्रका ९ प्रदेश  संसाद मधेश प्रदेशमा छन् । यसको गणना गर्दा ठ्याकै ५४ पुग्छ, जुन सरकार गठनको लागी पुर्ण छ ।

प्रतिक्रिया दिनुहोस्