अन्तर्वार्ता

वीमा बजार विस्तारका लागि स्थानीय तहसँग समन्वय आवश्यक

२ जेष्ठ २०८१, बुधबार ११:४३

वीरगन्ज, २ जेठ । नेपाल वीमा प्राधिकरणले मधेस प्रदेशमा वीमाको पहुँच बढाउन स्थानीय तहसँग समन्वय गर्ने बताएको छ ।

नेपाल वीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा वीमा प्राधिकरण मधेस प्रदेशले वीरगन्जमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्राधिकरण मधेस प्रदेश प्रमुख कुसुम शर्माले आक्रामक वीमा बजार विस्तारको लागि स्थानीय तहसँगको समन्वय आवश्यक रहेको बताउनुभयो ।

वीमा साक्षरताका लागि सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चार माध्यमहरुसँग पनि हातेमालो गरेर अगाडि जान प्राधिकरण तयार रहेको बताउनुभयो ।

मधेस प्रदेशमा वीमाप्रतिको आकर्षण बढाउनका लागि प्राधिकरणले वीमा साक्षरता अभियान निरन्तर चलाई रहेको बताउदै स्थानीय तहहरुसँगको सहकार्यमा केही कार्यक्रमहरु गरेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले खराब विमा र अस्वस्थ प्रतिस्पर्धाले आम नागरिकमा वीमाप्रतिको विश्वसनीयता कायम हुन नसकेको बताउनुभयो ।

उहाँले मधेस प्रदेशका अधिकांश नागरिकले भारतीय जीवन विमा कम्पनीहरुमा वीमा गरेको अवस्था रहेको यसलाई रोक्न प्राधिकरणले आवश्यक नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

प्राधिकरणकी मधेस प्रदेश प्रमुख कुसुम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सरकार, वीमा कम्पनी र प्राधिकरणको आपसी विवादले विमितहरु मार परिरहेकोले यसले पनि वीमा बजार फस्टाउन नसकेको सहभागीहरुले बताएका छन् ।

सरकारले वीमा कम्पनीहरुले गरेको कृषि वीमाको भुक्तानी नदिँदा अहिले कृषि वीमा रोकिएको र कृषि वीमा गरेका किसानहरुले पनि अझै दावी भुक्तानी नपाएको अवस्था रहेकोले सरकार र वीमा कम्पनीबीचको विवादका किसान चेपुवा पर्न नहुने धारणा राखे ।

वीमा कम्पनीका प्रतिनिधिहरुले वीमामा देखिएको विभिन्न समस्याहरु समाधानका लागि वीमा प्राधिकरण मधेस प्रदेशले खेलेको भूमिका सराहनीय रहेको बताउदै वीमा बजार विस्तारका लागि प्राधिकरणको भूमिका सकारात्मक रहेको बताए ।

कार्यक्रममा वीमा नेपाल वीमा व्यावसायी समाज (निप्स) निर्जिवन वीमातर्फको वीरगन्ज च्याप्टरका अध्यक्ष धिरज शर्मा, बरिष्ठ उपाध्यक्ष शशि विचित्र, उपाध्यक्ष निशान्त लामिछाने, निप्स जीवन वीमातर्फका अध्यक्ष प्रमोद साह,

नारायणी एफ.एमका स्टेशन मेनेजर नीरज पिठाकोटे, राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख हिमाल लम्साल, नेपाल सर्भेयर एशोसिएसन (निसा) का मधेस प्रदेश अध्यक्ष सुनिल जोशी लगायतले पनि विमा बजारको विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्