आर्थिक

लामो समयको खडेरीपछि परेको पानीले किसानलाई फाइदा

३१ बैशाख २०८१, सोमबार १०:३४

३१ वैशाख,वीरगञ्ज । लामो समयपछि परेको पानीले किसानलाई बहुआयामिक फाईदा पुगेको छ । पानी नपर्दा खडेरीले जमिन सुक्खा भएर फलफूल, बोटबिरुवा तथा तरकारी खेती प्रभावित भएको थियो ।

अहिले पानी परेपछि विशेषगरी फलफूल, बोटबिरुवा र तरकारी खेतीलाई फाईदा पुगेको कृषि ज्ञान केन्द्र पर्साका बरिष्ठ कृषि प्रसार अधिकृत हरिशंकर जैसवालले जनाए । अहिले परेको पानीले लामो समय पानी नपर्दा खडेरीले सुक्दै गएको बोट बिरुवा र फलफूल तथा तरकारी खेतीलाई राहत भएकोले किसानलाई फाईदा फाईदा पुगेको उनको भनाई छ ।

पानी नपर्दा जमिन सुक्खा भएर फलफूललाई पानीको अभाव भईरहेको थियो । घाम धेरै लाग्ने र जमिन पनि सुक्खा भएपछि फलफूलको पातहरु पनि झर्न थालेको थियो । पानी परेपछि आँप, लिची लगायतका फलफूललाई फाईदा पुगेको जैसवालले बताए । त्यस्तै उखुबालीलाई पनि फाईदा पुगेको छ । बरिष्ठ कृषि प्रसार अधिकृत जैसवालका अनुसार उखुबाली उम्रिएर घुँडासम्मको उचाईमा आईपुगेको छ ।

यतिखेर पानीको आवश्यकता पर्छ । आवश्यकता अनुसारका पानी परेपछि अहिले सबैभन्दा धेरै फाई उखुबालीलाई भएको छ । सुक्खा धेरै भएमा उखुबालीमा गभारो किरा लाग्ने जोखिम बढी हुने भएकोले अहिले परेको पानीले उखुबालीलाई फाईदा पुगेको छ । त्यस्तै चैते धानबालीलाई पनि पानीले फाईदा पुगेको छ ।

लामो समयसम्म पानी नपर्दा तरकारीबालीमा एकदिन बिराएर पानी हाल्नुपर्ने अवस्था थियो । अहिले परेको पानीले तरकारी बालीलाई पनि राहत भएको छ । बालीनालीलाई आवश्यक पर्ने पानी परेकोले यसबर्ष फलफूल, तरकारी, उखु र चैते धानलाई पनि राम्रो भएकोले उत्पादन पनि बढ्ने कृषिज्ञान केन्द्र पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्