अन्तर्वार्ता

जीतपुर सिमरा उपमहानगरको शैक्षिक अवस्था दयनीय

१ जेष्ठ २०८१, मंगलवार १२:५१

१ जेठ, सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको आधारभूत तहको शैक्षिक अवस्था अत्यन्तै दयनीय पाईएको छ ।

उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग गरिएको १६ दिने सर्वेक्षणले शैक्षिक अवस्था कमजोर देखाएको हो ।

उपमहानगरपालिकाको ५८ सामुदायिक र ४१ संस्थागत (निजी) गरी ९९ विद्यालयमा अध्ययनरत १६ हजार आठ सय ५० विद्यार्थीसंग उक्त सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको छ । उपमहानगरपालिकामा ६१ वटा सामुदायिक र ४९ वटा निजी गरी एक सय १० विद्यालय छन् ।

सर्वेक्षणमा सिमरा, बकुलिया र डुमरवाना कलेजका एक सय ५० जना स्नातक तहमा अध्यनरत विद्यार्थी खटिएका थिए ।

प्रविधिको प्रयोग गरी गरिएको डिजिटल सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाइएको थियो ।

सामुदायिक विद्यालयका आठ हजार एक सय ८७ र निजी विद्यालयका आठ हजार ६ सय ६३ विद्यार्थी सर्वेक्षणमा सहभागी भएका थिए ।

प्रतिवेदन अनुसार सामुदायिक र निजी विद्यालयको कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीमध्ये ८२.८ प्रतिशत विद्यार्थीले कक्षा ३ को भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न नसकेको देखिन्छ ।

जसमध्ये पाँच कक्षामा अध्ययनरत २५ प्रतिशत र कक्षा ८ मा अध्ययनरत २७ प्रतिशत विद्यार्थीले मात्रै उक्त समस्या समाधान गर्न सकेका छन् ।

यसैगरी कक्षा ८ सम्मका ७७।६१ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित प्रश्नको जवाफ समेत दिन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ ।

जसमध्ये कक्षा ५ को २९ प्रतिशत र कक्षा ८ को ४७ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित रहेर सोधिएका प्रश्नको जवाफ दिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्